काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रकरणलाई लिएर कडा आपत्ति जनाउँदै संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार एक होटलमा बसेको देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै त्यसविरुद्ध सबै तहबाट प्रतिरोध गर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै पार्टीका नेता–कार्यकर्तालाई आगामी दिनमा उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन आह्वान गरेका छन् । विज्ञप्तिमा सरकार गठन भएलगत्तै ‘दुराशयपूर्ण ढंगले’ गरिएको यो कदमले सरकार संविधान र लोकतान्त्रिक मूल्यमान्यताबाट विचलित भएको आरोप लगाइएको छ ।
खड्काले आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा प्रक्रिया नै पूरा नगरी पूर्वपदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएको दाबी गरेका छन् । उनले प्रतिवेदनको पृष्ठ नम्बर ७२१ मा उल्लेखित सिफारिसअनुसार आवश्यक अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढाउनुपर्ने भए पनि त्यसो नगरी सिधै पक्राउ गरिएको भन्दै प्रश्न उठाएका छन् ।
यस्तै, उनले आयोगले भदौ २३ र २४ गतेका घटनाको समग्र छानबिन गर्नुपर्नेमा भदौ २४ गतेको घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिबारे मौन बसेको उल्लेख गर्दै प्रतिवेदन नै पक्षपातपूर्ण रहेको टिप्पणी गरेका छन् ।






