Khabar Out
अध्यक्ष ओली पक्राउपछि देशभर आन्दोलन चर्कियो, एमाले कार्यकर्ता सडकमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि देशको राजनीतिक माहोल एकाएक तातेको छ । शनिबार बिहान गुन्डुस्थित निजी निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएसँगै एमाले समर्थकहरू देशभर सडकमा उत्रिएका छन् ।

ओलीको पक्राउको विरोधमा राजधानी काठमाडौंसहित विभिन्न सहरमा एमालेका भ्रातृ संगठन—युवा संघ र अनेरास्ववियु—का कार्यकर्ताहरूको व्यापक उपस्थितिमा प्रदर्शन भएको छ । भृकुटीमण्डप, च्यासलस्थित पार्टी कार्यालय र अन्य प्रमुख स्थानहरूमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् ।

प्रदर्शनका क्रममा सरकारविरुद्ध चर्को नाराबाजी गर्दै ओलीको तत्काल रिहाइको माग गरिएको छ । च्यासलस्थित पार्टी कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ भने विरोध कार्यक्रम थप चर्किने संकेत देखिएको छ ।

यसैबीच, ‘जेनजी’ प्रदर्शनसँग सम्बन्धित अनुसन्धान गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन जलाएर पनि असन्तुष्टि व्यक्त गरिएको छ ।

उता, विकसित परिस्थितिलाई ध्यानमा राख्दै गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । देशभरको सुरक्षा अवस्था कडा बनाइएपछि थप झडप हुन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update