काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानुनी कदम भएको ठहर गरेको छ ।
शनिबार (चैत १४) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकले गिरफ्तारी लोकतान्त्रिक मूल्य, कानुनी शासन र मानव अधिकारको मर्मविपरीत रहेको जनाएको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै ओली र लेखकको तत्काल रिहाइको माग गरिएको जानकारी दिए । उनले उक्त कदमको कडा शब्दमा निन्दा तथा भर्त्सना गरिएको बताए ।
एमालेले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई समेत पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएको छ । घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न पार्टीले माग गरेको छ ।
यस्तै, लोकतन्त्र, कानुनी शासन र मानव अधिकारको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र आमसमुदायलाई संयुक्त पहलका लागि एमालेले आह्वान गरेको छ ।
महासचिव पोखरेलका अनुसार गिरफ्तारीको विरोधमा चैत १५ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाइनेछ । साथै, पार्टीसम्बद्ध जनसंगठनहरूले देशव्यापी विरोध प्रदर्शन सुरु गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले अन्य राजनीतिक दलसँग संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ भने कानुनी प्रक्रियाको अगुवाइ उपाध्यक्ष गोकर्ण विष्टले गर्ने जनाइएको छ ।
एमालेले उक्त गिरफ्तारीले संविधान र लोकतन्त्रप्रति आस्था राख्ने नागरिकमा चिन्ता बढाएको उल्लेख गर्दै यसको राजनीतिक र कानुनी प्रतिवाद सशक्त रूपमा अघि बढाइने जनाएको छ । साथै, पार्टीपंक्तिलाई एकताबद्ध रहन नेतृत्वले आह्वान गरेको छ ।






