काठमाडौँ । भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबिच संवाद कार्यक्रम हुने भएको छ।
यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवाद: रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । नेपाली र भारतीय चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा निर्देशक सिप्पी र अभिनेता हमालले संवाद गर्ने उनको भनाइ छ ।
अध्यक्ष पाठकले महोत्सवमा अन्य देशका चलचित्रकर्मीको पनि सहभागिता रहने बताए । निर्देशक सिप्पी प्रख्यात भारतीय चलचित्र ‘शोले’ का निर्देशक हुन् । यस्तै, अभिनेता हमाल नेपाली चलचित्र क्षेत्रका ज्ञातासँगै तीन दशकभन्दा बढी काम गरिसकेका छन् ।
आयोजकका अनुसार निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिनेछ ।






