जुम्ला । मार्सी धानको बीउ बेर्नामा छरेर जुम्लामा २३औँ धान दिवस २०८२ एक कार्यक्रमका बिच मनाइएको छ । ‘जुम्लाको मूल्यवान् मार्सी धान, संरक्षण प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ जिल्ला कृषि विकास कार्यालयको आयोजनामा बिहीबार कृषि अनुसन्धान केन्द्रको प्राङ्गणमा जुम्ली मार्सी धानको बीउ प्रदर्शनी, बीउको उपचार विधि र बीउ बेर्नामा छरेर धान दिवस मनाएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले जिल्लामा परम्परादेखि चैत १२ गते नै धानको बीउ घरमा भिजाउने दिनलाई वारुवाको दिवसका रूपमा मानी २०७७ साल जेठ १२ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले जुम्ला जिल्लालाई चैत १२ गतेको दिनलाई धान दिवस मनाउने भनी निर्णय गरेअनुसार यस वर्ष पनि प्रदेश सरकारको परिपत्रअनुसार कृषि क्षेत्रमा काम गर्ने जिल्लाका सरोकारवाला निकायको सहकार्यमा धान दिवस मनाएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।
जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको छ । गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्ला बाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सी धानको चामल बिक्री वितरणबाट करिब रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।
चैत १२ गते बीउ पानीमा बोरामा राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीमा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । यहाँको चलनअनुसार चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूलदेवतालाई सम्झेर चैत १२ गतेदेखि धान उत्पादन गर्ने परम्परागत चलन रहेको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए।
जिल्लामा परम्परागत खेती गरिँदै आएको जुम्ली मार्सी धान खेती प्रविधिमा केही रोग कीराको बढ्दा समस्याका कारण जिल्लामा रहेको कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउनका लागि सिफारिस गरिएको छ । अब अनुसन्धानले मार्सी १८, २० र २२ जातको धान सिफारिस गर्ने क्रममा रहेको कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत तीर्थराज देवकोटाले जानकारी दिए ।
पछिल्लो समयमा धान खेतीमा विभिन्न प्रकारका रोग लाग्ने गरेका छन् । जुम्ली मार्सी धानको महत्त्व र यसको खेतीसम्बन्धी प्राविधिक ज्ञान, सीप स्थानीयस्तरमा प्रदान गर्नु अति आवश्यक छ । मार्सी धान लोपोन्मुख हुनबाट बचाउन स्थानीय तहदेखि सम्बन्धित कार्यालयको महत्त्वपूर्ण भूमिका रहने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको भनाइ छ ।






