Khabar Out
तिमीलाई चेतना भया    


विष्णु लुईटेल

कति पटक तिम्रो भनाईमा लागें 
यस पटक त पक्कै राम्रो गर्छु भन्थ्यौ
तिमीलाई सुख शान्ति दिन्छु 
तिमीले भने जस्तो गरि दिन्छु
तिमीलाई माया र सम्मान गर्छु
तिम्रो स्वाभिमानमा चोट पुग्ने काम
कदापी गर्दिन भन्थ्यौ, पटक पटक भन्यौ, भनिरह्यौ
मैले पनि आँखा चिम्म गरेर, चुपचाप मानिरहे
तिमीले भनेका कुराहरु मनले नमानी नमानी मानिरहे
मन अमिलो पार्दै सहेरै बसें 
वर्षौ वित्यो,अर्को पटक पनि त्यसै भन्यौ
सहेरै वसे, तिमीले भनेको मानीरहे
जवानी तिमीलाई सुम्पि दिए 

मेरो र सन्ततीको भविष्य राम्रो हुन्छ भनी
आशा गरिरहे, आशामै जिन्दगी विताइ दिए
अव त तिम्रो सुकर्म र सफलताको वाटो कुर्दै
दोवाटोमा वसेको पनि छत्तीस वर्ष वितेछ ।

जति समय वित्दै गयो उति तिमी सुध्रिएनौं
अझ थोत्रो हुँदै गयौ, तिम्रो वानी विग्रेछ 
तिमी त वेथितीको कुलतमा फसिसकेका रहेछौ
मैले त पतै पाइन, तिमीलाई बुझ्नै सकिन
कमजोरी मेरै थियो, दोष मेरै थियो । 

आकाशमा कतै वादल थिएन
पानी वर्षेला भन्ने कुनै संकेत थिएन, 
अकस्मात वयासी भदौको तेइस गते टंटलापुर घाममा
विना मेघ विना वादल,भयकर वर्षात भयो
मेरा उन्नाइस जना छोरा छोरीलाई अनायशै
नपत्याउदो खहरेले वगाएर लग्यो 
मलाइ एक्लो वनायो, बिरक्त लाग्छ ।  

भोलि पल्ट अर्थात भाद्र चौबिस गते
म घरमा पुर्पुरोमा हात राखी, निशब्द टोलाइरहेको थिएँ,
अघिल्लो दिनको वर्षातको रातो खोला मूलबाटोमा बगिरहेको थियो 
अचानक आगोको मुस्लो मेरो घर भित्र पस्यो
मेरो घर मात्र हैन मेरो इतिहास र सम्पदाको 
हजारौ वर्ष पुरानो बिरासत एकै छिनमा खरानी भयो । 

अपुरणीय क्षति भयो, अकल्पनिय घटना थियो 
हावा हुण्डरी अझ सुनामी आयो, उडाएर लग्यो
खहरेले झै बगाएर लग्यो
कहिल्यै नफिर्ने गरी, मेरा सन्तान र सम्पदा ।

कति पर्खनु म तिमीलाई, म त आजित भइसके, 
मेरो धैर्यको बाँध टुटिसक्यो, मेरो मन फाटिसक्यो 
विश्वास तिम्रो भएन मलाई 
त्यसले मैले पनि तिमीलाई बिश्वास गर्न छोडि दियाँ
आँधिबेरी र हुण्डरी झै बनेर
फाल्गुन एक्काइस गते उडाई दियाँ
तिमीलाई चेतना भयाँ ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update