सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ शनिबार प्रदान गरिएको छ ।
नयन मिडिया फाउन्डेसनको आयोजनामा भएको सो अवार्ड कार्यक्रममा १६ विधामा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । समारोहमा कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षातर्फ उमेश श्रेष्ठ, स्वास्थ्यतर्फ डा वीरेन्द्र विष्ट, सामाजिक विधातर्फ दिनबन्धु गोयल, पत्रकारितातर्फ अखण्ड भण्डारी र साहित्यतर्फ अनिल पौडेललाई अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी, खेलकुद विधातर्फ एन्जिला तुम्बापो सुब्बा, सूचना प्रविधि विधातर्फ सरोज राउत, अटोमोबाइलतर्फ विष्णुकुमार अग्रवाल, सङ्गीततर्फ प्रमोद खरेल, बैंकिङतर्फ सन्तोष कोइराला, इन्स्योरेन्सतर्फ सन्तोष प्रसाईँ, पुँजी बजार विधातर्फ चुडामणि चापागाईँ, कर्पोरेटतर्फ मोती दुगड, उद्यमशीलतातर्फ रक्तिम जोशी प्याकुरेल र स्टार्टअपतर्फ नरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरिएको अध्यक्ष अधिकारीले बताए ।
सोही अवसरमा फाउन्डेसनले दुर्घटना बीमा कार्यक्रम सुरु गरेको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्का र इन्स्योरेन्स प्रतिनिधि भेषराज थापाबिच बीमा सम्झौता भएको हो । सुनसरीका ३०० क्रियाशील पत्रकारका लागि दुर्घटना बीमा गरिएको महासचिव दाहालले बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ ले समाजमा सकारात्मक सन्देश दिएको बताए । मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले सङ्घीय संरचनाले देशलाई अझ मजबुद बनाएको बताए ।
कार्यक्रममा प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र उद्योग, कृषि तथा सहकारीमन्त्री इर्साइल मन्सुरीले यस्ता कार्यक्रमले प्रदेश सरकारलाई समेत ऊर्जा प्रदान गर्ने बताए ।





