झापा । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उनलाई धौधौ थियो ।
अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उनले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।
सानैदेखिको गरिखाने यही सोचले आज उनलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उनको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।
विसं २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताए । सीमित स्रोत र साधनका बाबजुद उनको दृढसङ्कल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उनले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्छन् । उद्यम गरेरै उनले सुविधाजनक घर र घडेरी जोडेका छन् ।
“आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो”, उनी भन्छन्, “सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरूकामा मजदुरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहेका छन् ।”
झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उनले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताए । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् । उनले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताए । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।
भीमबहादुरको सफलताको जग मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्याएर बेच्ने उनको दैनिकी थियो । स्थानीय हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उनले व्यापारको कखरा सिके ।
त्यतिमात्र होइन, उनले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को कामसमेत गरे । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उनी पूर्ण रूपमा स्वरोजगारको खोजीमा लागे । शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उनले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गरे, जसले उनको जीवनलाई नयाँ मोड दियो ।
“इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ”, उनको सफलतालाई नजिकबाट नियालिरहेका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्छन्, “आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदोरहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उनले प्रमाणित गरिदिएका छन् ।”
भीमबहादुरको यो व्यावसायिक फड्कोमा उनकी पत्नी तुलसी भट्टराईको बलियो साथ छ । “मैले कहिले पनि उनलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ”, भीमबहादुरकी पत्नी तुलसी भन्छिन्, “उनमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउँदैनन् । उनलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।”
भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिएका छन् । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । भानु माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाएका छन् । भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुटेका छन् ।
रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुन् । मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुन्– भीमबहादुर । रासस





