काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का अइन्द्र सुन्दर नेम्बाङले १४ हजार ५ सय ३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र विक्रम थामसुहाङले ४ हजार १९७ मत प्राप्त गरेका छन् ।
विजयपछि केरुङले जिल्लाको गरिमा उच्च राख्दै पाँचथरको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि उनले “पाँचथरको समृद्धि र सेवा : मेरो संकल्प, मेरो प्रतिबद्धता” नारासहित सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन, पारदर्शिता, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका थिए ।
उनले जिल्ला अस्पतालको सेवा विस्तार, सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षाको प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, स्थानीय उद्योग र स्वरोजगार प्रोत्साहन तथा सडक, पुल, खानेपानी र डिजिटल पूर्वाधार विस्तारमा विशेष पहल गर्ने बताएका छन् । साथै पाँचथरका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमार्फत जिल्लाको दीगो विकासमा काम गर्ने उनको भनाइ छ ।





