काठमाडौं । जुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । उनले १४ हजार ८१६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३६ मत प्राप्त गरेका छन् । शाहीले भण्डारीलाई ३ हजार १८१ मतको फराकिलो अन्तरले पछि पार्दै जित हात पारेका हुन् ।
त्यसैगरी तेस्रो स्थानमा रहेको नेपाली कांगे्रस दिप बहादुर शाहीले ७१४३ र चौथो स्थानमा रहेको नेकपा एमालेका शान्तलाल महतले ४५१८ र पाँचौमा रास्वपाकी विनिता कठायतले ४२१ मत ल्याएकी छिन ।
यो जितसँगै शाही जुम्लाबाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। साथै, यसपटकको निर्वाचनमा राप्रपाले प्राप्त गरेको यो पहिलो जितसमेत हो। जुम्लामा शाहीको व्यक्तिगत प्रभाव, स्थानीय मुद्दामा सक्रियता र मतदातासँगको निकट सम्बन्धका कारण उनले राम्रो मत प्राप्त गरेको विश्लेषण गरिएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनका समर्थक तथा कार्यकर्ताहरूले जुम्लाका विभिन्न स्थानमा विजय उत्सव मनाएका छन् । विजयी भएपछि शाहीले जुम्लाको विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





