Khabar Out
जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राखेका छन्।

यहाँको कनकासुन्दरी, सिंजा, हिमा, तिला र तातोपानी गाउँपालिका गरी पाँच वटा स्थानीय तहसहित चन्दननाथ नगरपालिका १ र २ वडाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार राप्रपाका शाहीले १० हजार ९९२ मत प्राप्त गरी अग्रता कायमै राखेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।

शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ७ हजार १५  मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले ३ हजार ३५५ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४ हजार ३५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताए ।

यसैगरी, रास्वपाका विनिता कठायतले २९६ मत, प्रलोपाका मनऋषि धितालले ८९, नेमकिपाका वृषबहादुर रावतले २९३, नेपाल जनता पार्टीका उम्मेदवार रनिलविक्रम शाहीले २८, नेकपा माओवादीका उम्मेदवार वृष शाहीले ५६ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल खसेको मतमध्ये हालसम्म २४ हजार ७७७ मतगणना भइसकेको जनाएको छ ।

जिल्लामा कूल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलको भनाइ छ ।

समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update