Khabar Out
मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार राजवंशीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछाडि पार्दै जित दर्ता गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरे। उनले चुनावी मैदानमा रहेका पुराना र स्थापित दलका नेताहरूलाई निकै सहजै पाखा लगाए। यो क्षेत्रमा राजवंशीको जितलाई रास्वपाको बढ्दो प्रभावका रूपमा हेरिएको छ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गर्न सके। घिमिरे र राजवंशीबीचको मतान्तर झण्डै २८ हजार रहेको छ। यस्तै, चुनावी मैदानमा रहेका अन्य उम्मेदवारहरूले पनि उल्लेख्य मत पाउन सकेनन्। नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदी १० हजार ७६२ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् भने नेकपा एमालेका जीवन घिमिरेले ६ हजार ९३३ मत मात्र प्राप्त गरे।

कुल एक लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा ८० हजार ०८४ मत खसेको थियो। निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update