Khabar Out
होली पर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन सबैमा आग्रह गरेको छ।  कार्यालयले एक सूचना जारी गर्दै फागु पूर्णिमा (होली) २०८२ को अवसरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पर्वलाई सामाजिक सद्भाव र भाइचारालाई मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्न अपिल गरेको हो।

कार्यालयले पछिल्ला वर्षहरूमा होली मनाउने नाममा सार्वजनिक स्थलमा होहल्ला गर्ने, जथाभावी रंग तथा पानी छ्याप्ने, मदिरा सेवन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी आवागमन अवरुद्ध गर्ने लगायतका गतिविधि बढ्दै गएको उल्लेख गरेको छ। यस्ता कार्यले सामाजिक तथा सार्वजनिक जीवनमा नकारात्मक असर पार्ने भएकाले त्यस्ता क्रियाकलाप नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

सूचनामा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ तथा प्रचलित कानुनबमोजिम धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू व्यवस्थित र मर्यादित रूपमा मनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। कसैको इच्छाविपरीत रंग वा लोला हान्ने, जबर्जस्ती गर्ने, अश्लील तथा उच्छृंखल व्यवहार प्रदर्शन गर्ने कार्य नगर्न चेतावनी दिइएको छ।

त्यस्तै, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को समेत पालना गर्न प्रशासनले आग्रह गरेको छ। आचारसंहिताअनुसार जुलुस, सभा वा प्रचारप्रसारमा संलग्न व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्ह अंकित लोगो, स्टिकर वा कपडा (टिसर्ट, कमिज, गम्छा, टोपी आदि) प्रयोग गर्न नपाइने व्यवस्था रहेको जनाइएको छ। होली पर्वका क्रममा पनि यस्ता सामग्रीको प्रयोग पूर्णरूपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले घरपरिवार तथा आफन्तजनबीच मर्यादित रूपमा पर्व मनाउन प्रोत्साहन गर्दै खुला सडक तथा सार्वजनिक स्थानमा भीडभाड, मेला–महोत्सव, ठूलो ध्वनि प्रदूषण हुने सांगीतिक कार्यक्रम, मदिरा बिक्री–वितरण तथा सेवनजस्ता गतिविधि नगर्न आग्रह गरेको छ।

आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमा असर नपर्ने गरी शान्तिपूर्ण रूपमा पर्व मनाउन अनुरोध गर्दै प्रशासनले उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update