कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् ।
निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीन वटा मात्रै लिखित उजुरी दर्ता भएका छन् ।
“मौखिक रूपमा आएका गुनासोलाई प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरिएको छ”, उनले भने, “आचारसंहिता विपरीत टाँसिएका प्रचारप्रसारका सामग्री हटाउन तथा सार्वजनिक सम्पत्तिमा गरिएका प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिने गरिएको छ ।” उनका अनुसार लिखित रूपमा दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।
सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण सङ्कलन गर्ने तथा आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ । हालसम्म गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी भने नपरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा, मोटरसाइकल र्याली र टोल भेलामार्फत चुनावी अभियानलाई तीव्रता दिएका छन् । प्रचारप्रसारका क्रममा सार्वजनिक स्थानमा अनधिकृत रूपमा टाँसिएका पोस्टर, ब्यानर तथा ध्वनि प्रदूषणसम्बन्धी गुनासा बढी आएका छन् । तर यस्ता विषयमा लिखित उजुरी भने सीमित मात्रै परेको अनुगमन समितिले जनाएको छ ।
चुनावी अभियान विस्तारसँगै बजार क्षेत्रबाट ग्रामीण बस्तीमा प्रचार सामग्रीको प्रयोग बढेको छ । कतिपय स्थानमा तोकिएको समयभन्दा बाहिर लाउडस्पिकर प्रयोग गरिएको, सार्वजनिकस्थलमा ब्यानर टाँसिएको तथा जुलुस व्यवस्थापनमा कमजोरी देखिएका विषयमा गुनासा आएका छन् । अनुगमन टोलीले दैनिक रूपमा विभिन्न स्थानमा पुगेर आचारसंहिता पालनाको अवस्था मूल्याङ्कन गरिरहेको जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आचारसंहिता कडाइका साथ पालना गर्न समितिले आग्रह गरेको छ । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन र सुरक्षा निकाय सतर्क अवस्थामा रहेका छन् । रासस




