Khabar Out
मकवानपुरमा मत बदर घटाउन ११५ मतदाता शिक्षा स्वयंसेवक परिचालन

मकवानपुर । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मत बदर हुने दर घटाउने उद्देश्यले मकवानपुरमा ११५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।

मकवानपुरको १० वटै पालिकाको १०५ वटा वडामा एक÷एक जनाको दरले १०५ जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा एक÷एक जनाका दरले १० जना अनुगमनकर्ता परिचालन गरिएको हो ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदाता शिक्षा कार्यक्रममार्फत वडामा परिचालित स्वयंसेवकहरूले निर्वाचन प्रक्रिया, मतदान प्रक्रिया, मतदान गर्ने विधि, सही मतदान गर्ने तरिका, मतपत्रमा स्वस्तिक छाप लगाएपछि बदर नहुने गरी पल्टाएर मतपेटिकामा खसाल्ने तरिकालगायत विषयमा गाउँ–टोल र घरदैलोमार्फत जानकारी दिइरहेका छन् ।

फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वयंसेविका, मातृ शिक्षा कार्यकर्ता र बालविकास सहजकर्तालाई छनोट गरी तालिम दिएर परिचालन गरिएको प्रमुख ढकालले बताए । प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा खटिने कर्मचारीलाई आजदेखि नियुक्ति दिन सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा खटिने तीन हजार ३६६ कर्मचारीलाई नियुक्ति दिन सुरु गरिएको निर्वाचन कार्यालय प्रमुख ढकालले बताए ।

मकवानपुरका दुई निर्वाचन क्षेत्रमा तीन सय ७४ मतदान केन्द्रमा ६ जनाका दरले दुई हजार दुई सय ४४ कर्मचारी र एक हजार एक सय २२ स्वयंसेवक खटाइनेछ । प्रमुख ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिनेछन् ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि फागुन १२ देखि १४ गतेसम्म हेटौँडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ । प्रशिक्षणपछि फागुन १६ गतेदेखि कर्मचारी सम्बन्धित मतदान केन्द्रमा खटिनेछन् ।

निर्वाचनका लागि अनुसूची फाइलिङ, मतपेटिका सरसफाइ र प्याकिङको काम सकिएको प्रमुख ढकालले बताए । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न छ स्थानीय तहमा रहेका १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

जिल्लाका ६० मतदानस्थललाई संवेदनशील र ८८ वटालाई सामान्य सूचीमा राखिएको उनले जानकारी दिए । अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । उनका अनुसार बकैया गाउँपालिकाका पाँच, राक्सिराङ गाउँपालिकाका छ, बागमती गाउँपालिकाका पाँच, भीमफेदी गाउँपालिकाको एक, मनहरी गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन् ।

मकवानपुरमा यसपटक १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।

मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । रासस

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update