सुर्खेत । यही फागुन २१ गतेको चुनावलाई लक्षित गरेर हिउँले ढाकिएको उपल्लो डोल्पाको तीन पालिकामा नेपाली सेनाले घोडाबाट गस्ती सुरु गरेको छ । अक्सिजनको कमी हुनाका साथै हिउँले बाटो नै अवरुद्ध भएको उपल्लो डोल्पामा घोडाको प्रयोग गरेर सुरक्षा गस्ती सुरु भएको हो ।
अहिले उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धको धो, छार्काताङसोकङको कागकोट र शे फोक्सुण्डोका सुम्दुवामा सेनाले आफ्नो बेस खडा गरेर निर्वाचन लक्षित सुरक्षा गस्ती गरिरहेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष रूपमा सम्पन्न गर्न सेनाले घोडा प्रयोग गरेर गस्ती सुरु गरेको सङ्ग्राम शार्दूल गुल्म सुलिगार्डका गुल्मपति (सेनानी) हरिश शाहीले जानकारी दिए । जिल्लाका आठवटै पालिकामा सैनिक बेस खडा गरेर सेनाले पेट्रोलिङ गरिरहेको पनि सेनानी शाहीले बताए ।
जिल्लाका आठ ठाउँमा सेनाको निर्वाचन लक्षित सुरक्षा बेस क्याम्प खडा गरिएको छ । डोल्पामा ६८ मतदान केन्द्र स्थायी र दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार ११५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १८७ र पुरुष मतदाता ११ हजार ९२८ रहेका छन् ।





