कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा तीव्र रूपमा भइरहेको छ । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय पुर्याउने काम भएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले यहाँका सबै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र नेपाली सेनाको सुरक्षा पहरामा पुर्याइसकेको जानकारी दिए । “५१ प्रकारका निर्वाचन सामग्रीहरू निर्वाचन कार्यालयमा ढुवानी गर्ने काम भइरहेको छ,” निर्वाचन कार्यालय प्रमुख भट्टले भने, “कर्मचारी खटनपटनदेखि तालिम सञ्चालन भइरहेका छन् ।” उनले कैलालीमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जानकारी दिए ।
त्यसैगरी, निर्वाचन सुरक्षा केन्द्रित फौज परिचालनको काम पनि यहाँ भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले पहाडी जिल्लाहरूमा पनि थप प्रहरी परिचालन भइसकेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशभरि नेपाल प्रहरीतर्फ साढे सात हजार र सशस्त्र प्रहरी बल नेपालतर्फ पाँच हजारभन्दा बढी प्रहरी परिचालन भएको छभने यहाँ नेपाली सेनाले पनि आफ्नो सक्रियता बढाउँदै विमानस्थल र कारागार सुरक्षाको जिम्मा सेनाले लिइसकेको छ । रासस





