Khabar Out
‘चुनावमा मात्र आउनेलाई भोट दिइँदैन’

भक्तपुर । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल निकै तातिएको छ ।

१६ राजनीतिक दल र ९ स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार मैदानमा उत्रिएपछि यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास र सुशासनको ग्यारेन्टी खोजिरहेका छन्।

चाँगुनारायण नगरपालिका–१ की १९ वर्षीया मोनिका रोक्का यसपालि पहिलो पटक मतदान गर्दैछिन्। उनी भन्छिन्, "दुःख-सुखमा साथ दिने र यहाँको विकासमा ध्यान दिनेलाई मात्र भोट दिने हो। चुनावमा मात्र मुख देखाउनेलाई यसपालि मतदान गरिँदैन।" भक्तपुरका केशव पराजुलीको पनि उस्तै गुनासो छ। काठमाडौँको नजिक भएर पनि सडक कालोपत्रे नहुनु, खानेपानीको अभाव र सम्पदा संरक्षणमा बेवास्ता हुनुले यहाँका नागरिक असन्तुष्ट देखिन्छन् ।

  • मैदानमा पुराना हस्ती र नयाँ चुनौती

यस क्षेत्रमा २०३८ सालदेखि २०७० सम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले लगातार चुनाव जितेका थिए। त्यसपछि २०७४ र २०७९ मा सोही पार्टीका प्रेम सुवाल निर्वाचित भए। सुवाल यसपटक चौथो पटक चुनावी मैदानमा छन्। उनी भक्तपुरको विकास र जनताको खुसी नै आफ्नो मुख्य एजेन्डा भएको बताउँछन् ।

यद्यपि, यसपटक एमालेका सोमप्रसाद मिश्र, कांग्रेसका किरण न्यौपाने र रास्वपाका रुकेश रञ्जितले सुवाललाई कडा चुनौती दिने दाबी गरेका छन्। एमाले उम्मेदवार मिश्रले भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनःसंरचनालाई जोड दिएका छन् भने कांग्रेसका न्यौपानेले भूकम्पपीडितको पुनःनिर्माण र जग्गा रोक्काको समस्या समाधान गर्ने एजेन्डा अघि सारेका छन्। यस्तै रास्वपाका रञ्जितले सुशासन र भ्रष्टाचारमुक्त समाजलाई प्राथमिकता दिएका छन् ।

भक्तपुर नगरपालिकालाई नेमकिपाको 'भोट बैंक' मानिन्छ भने चाँगुनारायणमा मिश्रित जनमत छ। २०७९ को निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत पाउँदा एमालेका नवराज गेलाल ११ हजार ९६८ मतमा सीमित भएका थिए। मतान्तर ठुलो भए पनि यसपटक नयाँ शक्ति र युवा मतदाताको चाहनाले परिणाममा प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन्। निर्वाचनका लागि १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। सुरक्षाका लागि माघ २१ देखि नै सेना परिचालन भइसकेको छ। ३ हजार ६ सय ८० मतदानस्थललाई 'अतिसंवेदनशील' सूचीमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ। रासस

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update