Khabar Out
सिरहामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एक दिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि प्रशिक्षण सुरु हुने जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवका अनुसार प्रशिक्षण सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहामा सञ्चालन हुनेछ । प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ । “निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो,” प्रमुख श्रीवास्तवले बताए ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ का मतदान अधिकृतका लागि फरक–फरक मितिमा प्रशिक्षण सञ्चालन गरिनेछ । त्यसैगरी निर्वाचन क्षेत्र नं १ र २ तथा निर्वाचन क्षेत्र नं ३ र ४ का सहायक मतदान अधिकृतका लागि पनि छुट्टाछुट्टै प्रशिक्षण मिति निर्धारण गरिएको छ । प्रशिक्षण १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

“तोकिएको मिति र समयमा सम्बन्धित सबै अधिकारी अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ,” कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । प्रशिक्षणमा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, मतदान केन्द्र सञ्चालन, आचारसंहिता पालना, मतगणना प्रक्रिया तथा आकस्मिक अवस्थाको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइने जनाइएको छ । यस प्रशिक्षणले निर्वाचन कार्यलाई थप प्रभावकारी, मर्यादित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई समयमै उपस्थित भई प्रशिक्षण सफल बनाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update