मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।
यहाँ हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिए ।
उनले भने,“भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाकामा रहेका मतदान केन्द्रको यसअघि नै अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकिएको छैन ।”
मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाका वडा नं १ देखि ३ सम्म नार क्षेत्रमा तीन, वडा नं ४ र ५ को फू क्षेत्रमा दुई गरी पाँच वटा मतदान केन्द्र छन् ।
यहाँ आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पनि स्थानीय पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।
नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएका र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयामा छलफल भइरहेको बताए।
जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी सात हजार मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ हजार ७७९ मतदाता रहेकामा यसपटक २२१ मतदाता थपिएका हुन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।





