रसुवा । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही व्यवसायीले खेताला प्रयोग गरी थोरै परिमाणका सामान पटकपटक मितेरी पुल पार गराएर टिमुरे पुर्याउने र त्यसपछि सार्वजनिक सवारीसाधनमार्फत त्रिशूली तथा काठमाडौँ लैजाने प्रवृत्ति बढेको पाइएपछि उक्त कार्य रोक्न प्रहरी सक्रिय बनेको हो । यस्तो गतिविधिले राज्यको राजस्व छलिने भएका कारण सवारीसाधनमा अवैध सामग्री नबोक्न चालकलाई अनुरोध गरिएको उनले बताए ।
प्रहरीका अनुसार सवारीसाधन जाँचका क्रममा अस्वाभाविक रूपमा खुद्रा सामान लुकाइछिपाइ ल्याउने घटना पटकपटक फेला परेपछि त्यस्ता सामग्री बरामद गरी सम्बन्धित निकायलाई बुझाउने गरिएको छ । खुला ट्रक लिएर केरूङ जाने र फर्कंदा लोड गरेर ल्याएका विद्युतीय उपकरणभित्रका खाली स्थानमा चिनियाँ चुरोट तथा मदिरालगायत विभिन्न सामग्री लुकाएर ल्याउने गरेको पाइएको छ ।
चेकपोस्टमा ठूला–साना सबै सवारीसाधनको नियमित जाँच भइरहेको र इभी मोटरभित्रका सम्भावित लुकाउने ठाउँमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विभिन्न मितिमा सशस्त्र प्रहरी बलले रू ११ लाख २८ हजार तथा नेपाल प्रहरीले रू एक लाख ८५ हजार बराबरका सामग्री बुझाएको छ ।
यस्तै भन्सार कार्यालयले रू ६२ लाख ७५ हजार बराबरको अवैध माल सामग्री बरामद गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराईले जानकारी दिए। प्रहरीले कानुनविपरीत सामग्री बोकेमा चालक, व्यवसायी र सम्बन्धित व्यक्तिलाई कारबाही हुने उल्लेख गर्दै सबैलाई राज्यद्वारा निर्धारण गरिएको मापदण्डअनुसार मात्र सामान आयात–निकासी गर्न अनुरोध गरेको छ । रासस





