Khabar Out
एक करोड फिरौती र ५ किलो सुन माग्ने अपहरणकारी पक्राउ

राजविराज । सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरबाट मङ्गलबार साँझ अपहरणमा परेकी ७ वर्षीया बालिका नेहा खातुनलाई प्रहरीले बिहीबार सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले अपहरणकारीलाई नियन्त्रणमा लिँदै बालिकाको उद्धार गरेको हो।

प्रहरीले अपहरणमा संलग्न खड्क नगरपालिका–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट पक्राउ गरेको छ। अपहरणकारी अहमदले बालिकाका बुबा इमरान खानलाई फोन गरी छोरीको बदलामा एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती मागेका थिए।

उनले उक्त फिरौती रकम र सुन बुझाउन खानलाई खाँडो खोलामा बोलाएको समयमा प्रहरीले घेरा हालेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। मङ्गलबार घरबाटै हराएकी बालिकाको खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो।

पक्राउ परेका अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update