रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताले उम्मेदवारहरूसँग विकासको स्पष्ट खाका माग गरेका छन्। वर्षौँदेखि सडकको दुरावस्था, बेरोजगारी र कृषि क्षेत्रमा देखिएको समस्या झेल्दै आएका यहाँका स्थानीय यसपटक आश्वासन मात्र दिने नभई काम गरेर देखाउने प्रतिनिधि चुन्ने मुडमा छन् ।
मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुको गुनासो यहाँका सबै मतदाताको साझा पीडा हो। भैरहवादेखि मर्चवार आउने बाटोको हविगत निकै खराब रहेको बताउँदै उनी सडक राम्रो नहुँदा एम्बुलेन्स र दमकल समेत समयमा ल्याउन नसकिएको बताउँछन् ।
सडकसँगै बेरोजगारी यस क्षेत्रको अर्को घाउ बनेको छ। स्थानीय युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी दिने गरी उद्योग स्थापना गर्ने र खेतीपातीको समयमा भारतमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै समयमै मल र सिँचाइको व्यवस्था गर्ने नेताको खोजीमा यहाँका जनता छन्।
विगतका निर्वाचनमा जितेर गएकाहरूले फर्केर नहेरेको भन्दै मतदातामा एक प्रकारको आक्रोश पनि देखिन्छ। रायपुरका साधुसरण यादव र परसहवाका मख्खन लोधका अनुसार यस क्षेत्रमा स्तरीय अस्पताल र विद्यालयको भौतिक पूर्वाधारको समेत ठूलो अभाव छ।
सडकका खाल्डाखुल्डीले सवारी दुर्घटना निम्त्याइरहेको र स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने स्थानीयको माग छ। मायादेवी र सम्मरीमाई गाउँपालिकाका मतदाताले पनि शिक्षा, स्वास्थ्य र कृषिलाई नै प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
यसपटक रुपन्देही–४ मा २२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जसमा १५ जना विभिन्न राजनीतिक दलका र ७ जना स्वतन्त्र उम्मेदवार छन्। १ लाख १६ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा पूर्वमन्त्रीदेखि पूर्वसांसदहरूसम्मको प्रतिस्पर्धा छ ।
विगतमा पटक–पटक नेतृत्व फेरिए पनि आधारभूत समस्या समाधान नभएकाले यसपटक मतदाताले 'उम्मेदवार चिनेर' मात्र मतदान गर्ने बताएका छन् । रासस





