Khabar Out
भेटिएका ५३ वटा सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएर भेटिएका ५३ वटा सवारीसाधन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई बुझाएको छ । 

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका वा हराएका यी सवारीसाधन खोजतलासका क्रममा केही वास्तविक र कतिपयमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँ बसपार्क, बालकुमारी, लोकन्थली, वसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायत स्थानमा चोरिएका बाइक र स्कुटर भेटिएको थियो । 

गत साउन यता दुई सय ९६ वटा चोरिएका सवारीसाधन भेटाएर सम्बन्धित धनीलाई बुझाएको कार्यालयले जनाएको छ । सवारीसाधन चोरी हुनबाट जोगाउन ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न र एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update