Khabar Out
पाँचथरको समृद्धि र विकासमा : यस्ता छन नरेन्द्र कुमार केरुङको प्रतिबद्धता

पाँचथर । नेपाली कांग्रेसका तर्फबाट पाँचथर प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र कुमार केरुङले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। “पाँचथरको समृद्धि र सेवा : मेरो संकल्प, मेरो प्रतिबद्धता” भन्ने नारासहित केरुङले सुशासन, पारदर्शिता, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, रोजगारी र पहिचान संरक्षणलगायतमा काम गर्ने प्रतिबद्धता गरेका छन्।

केरुङले राजनीति पद र प्रतिष्ठाका लागि नभई सेवाको माध्यम भएको उल्लेख गर्दै जनताको विश्वासलाई सर्वोच्च ठानेर काम गर्ने बताएका छन्। उनले जनताको समस्या प्रत्यक्ष सुन्न नियमित रूपमा पाँचथरमै उपस्थित रहने, काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी सहजीकरण गर्ने तथा २४ घण्टा उपलब्ध हुने सांसद हेल्पलाइन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनउत्तरदायी बनाउने, भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्ने तथा हरेक ६ महिनामा आफ्नो कामको सार्वजनिक समीक्षा गर्ने उनको योजना छ।

स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई आधुनिक उपकरणसहित सुविधासम्पन्न बनाउने, विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उनले बताएका छन्। शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, बहुभाषिक शिक्षालाई व्यवहारमा लागू गर्ने तथा युवालाई लक्षित सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने पनि प्रतिबद्धता गरेका छन।

त्यसैगरी कृषि र आर्थिक विकासतर्फ जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, नगदे बाली प्रवर्द्धन, पशुपालन तथा कृषि बीमा कार्यक्रम प्रभावकारी बनाउने, स्थानीय उत्पादनको बजारीकरण र प्रशोधन उद्योग स्थापना गर्ने योजनालाई अघिसारेका छन। सहकारी र साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने तथा एक वडा एक उत्पादनको अवधारणा अघि बढाउने उनको लक्ष्य छ। जिल्लास्थित उद्योग–व्यवसायको संरक्षण र प्रवर्द्धनमा पहल गर्ने बताएका छन।

पूर्वाधार विकासअन्तर्गत जिल्लाका सबै वडासम्म सर्वसुलभ सडक सञ्जाल विस्तार, मोटरेबल सडक निर्माण, पुल तथा खानेपानी आयोजना सञ्चालन, डिजिटल पूर्वाधार विस्तार गरी विद्यालय र सरकारी कार्यालयमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने, प्राकृतिक विपद् जोखिम न्यूनीकरण, प्रभावित संरचनाको पुनःनिर्माण र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिने उनको भनाइ छ। राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला परियोजना सम्पन्न गर्न आवश्यक पहल गर्ने पनि उनले बताएका छन्।

पर्यटन र पहिचान संरक्षणतर्फ पाँचथरका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमार्फत आन्तरिक र बाह्य पर्यटन, ग्रामिण पर्यटन, होमस्टे तथा इको–टुरिज्मलाई प्रोत्साहन गर्दै स्थानीय कला, संस्कृति र पहिचान जगेर्ना गर्ने रहेको छ। सबै समुदायबीच सद्भाव, सहकार्य र साझा पहिचान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताएका छन्।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई सुदृढ गर्दै जिल्लाको दीगो विकासमा क्रियाशील रहने दाबी गर्दै केरुङले आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न मतदातासँग अपिल गरेका छन्। 

नरेन्द्रकुमार केरुङका प्रतिस्पर्धीहरुमा एमालेका अइन्द्रसुन्दर नेम्वाङ, नेपाली कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ, राप्रपाका तेजकुमार कुरुम्वाङ, जसपा नेपालका मचिन्द्र प्रसाद बेघा, नेमकिपाका लक्षुमान तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले, मंगोल नेशनल अर्गनाइजेशनले रामकुमार तुम्रोक र नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्वाङ रहेका छन ।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीबाट टेकबहादुर सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भानुभक्त फियाक, श्रम संस्कृति पार्टीबाट हस्तराज शेर्मा, नेकपा (माओवादी) बाट विजय नेम्वाङ र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) बाट मित्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update