Khabar Out
एमालेको घोषणापत्र : जेनजी युवालाई निःशुल्क इन्टरनेटदेखि उद्यमीलाई डलर कार्डसम्म

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा महत्त्वपूर्ण निर्णय गराउने प्रतिबद्धता जनाएको छ। बिहीबार काठमाडौंको होटल एभरेस्टमा आयोजित समारोहबीच सार्वजनिक गरिएको घोषणापत्रमा युवादेखि श्रमिक, महिला, विद्यार्थी, सुरक्षाकर्मी र वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मलाई लक्षित कार्यक्रम समेटिएको छ।

जेनजी युवालाई निःशुल्क इन्टरनेट र डलर कार्ड

एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म प्रत्येक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। जेनजी आन्दोलनपछि आलोचना खेप्दै आएको एमालेले युवालाई लक्षित विशेष कार्यक्रम अघि सारेको हो।

त्यस्तै, सूचना प्रविधि क्षेत्रमा अनुसन्धान, उत्पादन र निर्यात प्रवर्द्धन तथा स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न युवालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। यसबाट एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास लगायत क्षेत्रमा १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।

वैदेशिक रोजगारी र विद्यार्थीका लागि योजना

वैदेशिक रोजगारीमा रहेका श्रमिकको सम्मानस्वरूप वार्षिक ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने तथा उनीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने एमालेले जनाएको छ।

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण र न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था मिलाइने पनि घोषणा गरिएको छ।

शिक्षा र श्रमिक क्षेत्र

एमालेले सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने तथा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने, औपचारिक–अनौपचारिक सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने तथा शिक्षकको मर्यादाक्रम तोकी सबै शिक्षकलाई सामाजिक सुरक्षामा समेट्ने योजना अघि सारिएको छ।

स्वास्थ्य र महिला लक्षित कार्यक्रम

स्वास्थ्य स्वयंसेविकालाई मासिक २० हजार रुपैयाँ भत्ता र सामाजिक सुरक्षा प्रदान गर्ने प्रतिबद्धता एमालेले जनाएको छ। महिला उद्यमशीलता प्रवर्द्धन गर्न २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण तथा ऋण–व्यवसायको निःशुल्क बीमा व्यवस्था गरिने उल्लेख छ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने, प्रतिजन्म २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिने र ५ लाख रुपैयाँसम्मको जीवन बीमा निःशुल्क गर्ने घोषणा पनि गरिएको छ।

गरिब परिवार र सुरक्षाकर्मीलाई राहत

राज्यले गरिब परिवारको रूपमा पहिचान गरेका घरपरिवारले २०८२ भदौसम्म लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने तथा उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउने एमालेको लक्ष्य छ।

त्यस्तै, बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीहरूको सम्मान, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सिप विकास सुनिश्चित गरिने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ।

एमालेले यी सबै कार्यक्रम सरकार गठनसँगै पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा लैजाने दाबी गरेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update