काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन लक्षित आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै स्वास्थ्य, कर प्रणाली, कृषि, निजी क्षेत्र प्रवर्द्धन र सुशासनका क्षेत्रमा व्यापक नीतिगत सुधार गर्ने घोषणा गरेको छ। पार्टी सभापति गगनकुमार थापाले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहस कार्यक्रममार्फत विभिन्न योजनाबारे जानकारी दिएका हुन्।
स्वास्थ्य बीमा र निःशुल्क उपचारको प्रतिबद्धता
सभापति थापाले आफूहरूले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको उल्लेख गर्दै यसलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना तयार पारिएको बताए। “कुनै पनि नेपालीलाई जस्तोसुकै रोग लागे पनि निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था मिलाउने हाम्रो लक्ष्य हो,” उनले भने।
यसका लागि एकीकृत प्रणाली विकास, आवश्यक स्रोत व्यवस्थापन र जनशक्ति तयारीमा जोड दिइने उनले स्पष्ट पारे। अस्पताल भनेको केवल ठूला भवन मात्र नभई उपलब्ध संरचनालाई व्यवस्थित र गुणस्तरीय बनाउनु प्राथमिकता हुने उनको भनाइ थियो।
कर प्रणालीमा ठूलो परिवर्तन
कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलगाउने घोषणा गरेको छ। हाल अधिकतम ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई घटाएर २५ प्रतिशतमा झार्ने र संस्थागत कर २० प्रतिशतमा सीमित गर्ने योजना पनि अघि सारिएको छ।
अन्य करका दर सरलीकरण गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा समाहित गर्ने नीति लिइने थापाले बताए। नेपाललाई विदेशी लगानीको आकर्षण केन्द्र बनाउन भाषण मात्र नभई नीतिगत सुधार आवश्यक रहेको उनले जोड दिए।
निजी क्षेत्रलाई व्यापक परिभाषा
सभापति थापाले निजी क्षेत्रलाई सीमित व्यक्तिसँग मात्र जोडेर हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामेरा र मोबाइल लिएर काम गर्ने युट्युबरहरू समेत निजी क्षेत्रको हिस्सा भएको उल्लेख गर्दै सबैलाई समान अवसर दिनुपर्ने उनको धारणा थियो।
सरकार बनेको तीन महिनाभित्रै नीतिगत सुधारमा काम सुरु गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
मल आपूर्ति र कृषि सुधार
कृषि क्षेत्रमा देखिएको मल अभावको समस्या अन्त्य गर्ने घोषणा पनि कांग्रेसले गरेको छ। “आगामी वर्षदेखि ‘मैले मल पाइनँ’ भन्ने गुनासो सुन्नु नपर्ने व्यवस्था गरिन्छ,” थापाले भने।
हाल छुट्याइएको बजेट र विद्यमान खरिद कानुनले समस्या समाधान गर्न नसक्ने भन्दै बहुवर्षीय सम्झौता प्रणाली अपनाइने उनले बताए। मल वितरण प्रणाली परिवर्तन, कृषि बीमामा जोड र मध्यपूर्वी क्षेत्रमा कृषि निर्यात प्रवर्द्धन गर्ने नीति कांग्रेसले अघि सारेको छ।
नियुक्तिमा ‘दल होइन, अब्बल’ नीति
सभापति थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भागबण्डा नगर्ने प्रतिज्ञा गरेका छन्। “कुनै पनि नियुक्तिमा दल होइन, अब्बल भन्ने नारा आत्मसात् गर्छौं,” उनले भने। संवैधानिक आयोग, विश्वविद्यालय लगायत निकायमा दलगत भागबण्डाको अन्त्य गरिने उनको भनाइ छ।
साथै, लामो समयदेखि सरकारमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने योजना पनि कांग्रेसले अघि सारेको छ।
नेपाली कांग्रेसले स्वास्थ्य, कर, कृषि र सुशासन क्षेत्रमा संरचनागत सुधारमार्फत स्थिरता र समृद्धि हासिल गर्ने लक्ष्यसहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।





