Khabar Out
भ्रामक सामग्री नफैलाउन जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा एआई (AI) प्रविधिबाट सिर्जित सामग्री प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

परिसरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार काठमाडौंको नारायणगोपाल सडक खण्डमा पैदलयात्रुलाई हातपात गर्ने चालकका विषयमा विभिन्न सामग्री सामाजिक सञ्जालमा भ्रामक ढंगले सम्पादन गरी प्रसारण गरिएको पाइएको छ। उक्त सामग्रीले वास्तविक घटनालाई तोडमोड गरी प्रस्तुत गरेको भन्दै प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीले कानून विपरीत भ्रामक सूचना, फोटो तथा भिडियो सम्पादन गरी सार्वजनिक गर्ने कार्य दण्डनीय हुने स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानूनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही हुने भन्दै सबैमा सचेत र सजग रहन पनि आग्रह गरिएको छ । 

साथै, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपुष्ट र भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार ढंगले सूचना आदानप्रदान गर्न पनि अनुरोध गरिएको छ।

प्रहरी नायब उपरीक्षक पवन कुमार भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वसाधारणलाई सचेत र जिम्मेवार बन्न अपिल गरिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update