Khabar Out
खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग : बाधक बनेको घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मीटार सडकखण्ड अन्तर्गत खाल्ले र राजापानीको सिमानामा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाउने काम सुरु भएसँगै जिल्लावासीमा उत्साह छाएको हो।

कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको २ करोड बजेटमध्ये निर्माण कम्पनीले करिब १ करोड ७ लाख रुपैयाँमा सम्झौता गरी काम अघि बढाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यो सडकलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ।

हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ। तर, निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक सञ्चालनमा आउँदा साढे १७ किलोमिटर दूरी कम हुने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। नगरपालिकाको डेढ करोडभन्दा बढी लगानीमा भिरको दुवैतर्फ सडक खुलिसके पनि बीचमा रहेको कडा चट्टानका कारण यातायात अवरुद्ध हुँदै आएको थियो।

यसै सडकखण्ड अन्तर्गत दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ। २ करोड ७० लाख रुपैयाँको लागतमा स्टिल ट्रस पुल बनाउन लागिएको हो। पुल नहुँदा वर्षायाममा करिब ६ महिना यो सडक पूर्ण रूपमा बन्द हुने गरेको थियो।

अब पुल र भिरको चट्टान काट्ने काम सकिएपछि बाह्रै महिना यातायात चल्ने र तराईबाट खाद्यान्न, इन्धन तथा निर्माण सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update