सुन्दरहरैँचा । यहाँस्थित सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सीपको उत्सव ‘सुन्दरहरैँचा शैक्षिक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई व्यावहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले विद्यालय तहदेखि नै ज्ञानसँगै सीपको विकास आवश्यक रहेको उल्लेख गर्दै महोत्सवले विद्यार्थीमा नवप्रवर्तन र सिर्जनशीलता बढाउने विश्वास व्यक्त गरे ।
नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको महोत्सवमा नगरभित्रका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थीको सहभागिता रहने जनाइएको छ । साथै अभिभावक, विद्यार्थी, स्थानीयवासी तथा अन्तरपालिकाबाट गरी करिब रु एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनी हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
मूल समारोह समितिका संयोजक तथा नगरप्रमुख केदारप्रसाद गुरागाईँले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र व्यवहारिक ज्ञान हासिल गराउने उद्देश्यले पहिलोपटक यस्तो महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रस्तुति क्षमता र सिर्जनशीलताको विकासमा टेवा पुग्नेछ ।
महोत्सव विराटचोक औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको छ । कार्यक्रममा भाषा तथा साहित्य, गणित तथा तर्कशक्ति, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा नागरिक शिक्षा, वातावरण, स्वास्थ्य र पोषण, प्रारम्भिक बाल विकास (इसिडी), उद्यम, कला, व्यवस्थापन तथा व्यावसायिक सीपसम्बन्धी विविध विषयगत प्रदर्शनीहरू राखिएका छन् । साथै विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूसँग प्यानल छलफल तथा विद्यार्थीका जातीय–सांस्कृतिक झाँकी प्रदर्शन पनि समावेश गरिएको छ ।





