काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म २०० जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए ।
कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ र माघमा एकजनाको मात्र वर्गीकरण भएको उनले जानकारी दिए । “जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो । त्यसैले वर्गीकरणको संख्या धेरै भएन,” प्रवक्ता बुढाथोकीले भने ।
उनले सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण संकलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिए । जेनजी प्रर्दशनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ ।
उनका अनुसार, जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते रहेको मन्त्रालयको तथ्यांक छ । रासस





