Khabar Out
सिरहामा उखुबारीमा आगलागी हुँदा करोड १६ लाखको क्षति

सिरहा । सिरहाको लहान नगरपालिका–१३, घलेटोलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । 

प्रारम्भिक विवरण अनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार, दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको उनले बताए ।

गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा करिब चार घन्टापछि आगो पूर्ण रूपमा निभाइएको थियो । लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो ।

प्रहरीका अनुसार, उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित किसान रामलखन मण्डलले उखु बेचेर घरायसी खर्च र ऋण तिर्ने योजना रहेको दुःखेसो पोख्दै भने, “लागतसमेत डुब्यो, दोषी पत्ता लगाएर क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ ।” 

अर्का किसान कपिलदेव यादवले उखुमा आगो लगाउने जोसुकै भए पनि किसानमाथि अपराध गरेको भन्दै कानुनी कारबाहीको माग गरे ।

उनका अनुसार, उखु रोप्नुअघि र रोपेपछि मलखाद र सिँचाइ उपलब्ध हुँदा प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ । चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल ६२० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी ६९० रुपैयाँ आम्दानी हुने गर्छ । यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति एक करोड २४ लाख २० हजार रुपैयाँसम्म पुग्ने देखिएको उनले बतए । रासस

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update