Khabar Out
आश्वासन मात्र नभई विकास र रोजगारी खोज्दै मतदाता

कैलाली । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिबेला उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा तथा प्रतिबद्धतापत्र लिएर मतदाताका घरदैलो धाइरहेका छन् । दल तथा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।

उम्मेदवारहरूबाट पटकपटक आश्वासन मात्रै पाएका मतदाता भने यस पटकको निर्वाचनमा आश्वासन नभई विकास र रोजगारीको आधार खोजिरहेका छन् । जिल्ला धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँकी जाना रोकाया गाउँको विकास गर्ने आधार लिएर आउनेलाई मात्र मत दिने बताउँछिन् । विगतमा जस्तो चुनावका बेला जे पनि गरिदिन्छौँ भनेर आश्वासन दिने तर पछि पूरा नगर्ने र त्यसका लागि दबाब नदिने उम्मेदवारलाई मत नदिने उनको भनाइ छ ।

रोकायाले भनिन्,“हाम्रो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । कच्ची सडक हुनाले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । चुनावको समयमा नेताहरूले यीलगायत समस्या समाधान गर्ने बाचा गर्छन्, विगतमा पनि यस्तै आश्वासन पाइन्थ्यो । समस्या यथावत छन्, त्यसैले यसपटक समाधानको आधार खोजी गरिरहेका छौँ ।”

सोही ठाउँकी विनमति थापाको पनि उस्तै गुनासो छ । उनले भनिन्,“यहाँ हामीले सोचेअनुसार विकास भएन । रोजगारी नहुँदा छोराछोरी विदेशिनुपरेको छ । त्यसैले अब हामीलाई यी समस्या समाधान गर्ने नेता चाहिएको छ ।”

चुरे गाउँपालिका–४ जगातीकी बविता विकले गाउँका आधारभूत समस्या समाधान गर्ने नेतालाई जिताउनुपर्ने बताइन् । उनले गाउँमा खानेपानी, पुलपुलेसा, सडक, स्थानीय उत्पादन वृद्धि र बजारीकरणलगायत समस्या रहेकाले समाधानका लागि आफ्नो प्रतिनिधिले विश्वासयोग्य बाचा गर्नुपर्ने धारणा राखिन्।

विकले भनिन्,“चुनावका बेला गाउँ, टोल, घरघरमा आएर नेताहरुले अनेक बाचा गर्छन्, चुनावपछि बिर्सिन्छन् । रोजगारी नहुँदा युवाहरू अर्काको देशमा सस्तोमा श्रम गर्न बाध्य छन् । हामीलाई विकाससँगै रोजगारी र हाम्रा कृषिउपजको उत्पादन वृद्धि तथा बजारीकरण गरी गरिखान सघाउने सरकार र प्रतिनिधि चाहिएको छ ।” रासस

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update