Khabar Out
कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ :  महामन्त्री पौडेल

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन् ।

नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उनले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताएका हुन् ।

“विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरित भएर आएको हो । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ । रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो”, महामन्त्री पौडेलले भने, “पार्टीले एक व्यक्ति दुई पटकसम्म प्रधानमन्त्री हुने, सांसद्, मन्त्रीको समयरेखाको कुरा गरेका छौँ । निर्वाचनअघि गठबन्धन नगर्ने लगायत नीति अगाडि सारेका छौँ । त्यसैकारण यसपटक सबैले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमा मत हाल्ने अवस्था बनेको छ । भविष्यमा अरु प्रभाव देखिने नै छन् ।”

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै ती मागको सम्बोधन कांग्रेसले पूरा गर्ने जिकिर गरे । भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचार अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना र डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।

गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जित आवश्यक रहेको बताए । आफूले १५ वर्षदेखि निरन्तर समाजसेवा गर्दै आएको उल्लेख गर्दै उनले जनताको सेवा गर्न समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाउने बताए ।

कांग्रेस गोरखा क्षेत्र नं १ का उम्मेदवार प्रेम खत्रीले राष्ट्रिय समस्याका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्ले, कमला पन्त, अब्दुल सत्तार, किरणबाबु श्रेष्ठ, कांग्रेस गोरखा जिल्ला सभापति एवम् प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेलगायतले धारणा राखेका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update