Khabar Out
मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेन्डा

मनाङ । प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेन्डासहित मतदातासामु मत आफ्नो पक्षमा पार्ने कसरतमा छन् ।

निर्वाचनमा यहाँ तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस (नेका), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ । यी प्रतिस्पर्धी दलले मुख्य एजेन्डा मनाङको पर्यटन क्षेत्र, पूर्वाधार विकास र जलवायु परिवर्तन अघि सारेका छन् ।

मुख्य त मनाङको पर्यटन क्षेत्र आयस्रोत हो भने पूर्वाधार विकास बिना असम्भव रहेकाले सहज पहुँचको विकासलाई प्राथमिकता दिएको नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङ बताउँछन् । उनी भन्छन्, “मनाङ विकट क्षेत्र हो । यहाँको पूर्वाधार विकासका लागि स्थल मार्गको पहुँच महत्त्वपूर्ण हुन्छ । अझैसम्म पनि सहज बनाउन सकिएको छैन । त्यसैले यही विषयलाई प्राथमिकता दिएको छु ।”

मुख्य आयस्रोतको रूपमा रहेको पर्यटन व्यवसायको प्रवर्द्धन र पर्यटक आउने पहुँच मार्ग सहज बनाउनु आवश्यक रहेको उनी बताउँछन् । “देशैभरमा सबैभन्दा पछि सडक पहुँच पुग्ने जिल्लामा मनाङ पर्छ तर, हालसम्म पनि नार्पाभूमि स्थल मार्गको पहुँचमा छैन”, उम्मेदवार गुरुङ भन्छन्, “यस क्षेत्रलाई सडक सञ्जालले जोड्न सकिएमा अझ पर्यटक बढ्छ । यसले मनाङको आयस्रोत नै बढ्ने हो ।” यहाँको साहसिक, ऐतिहासिक, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आयस्तर बढाउने लक्ष्य लिइएको छ ।

देशकै आयस्तर वृद्धि गर्नमा महत्त्वपूर्ण रहेको मनाङमा जलविद्युत् आयोजनाको हब बनाउने योजना बनाएको उम्मेदवार गुरुङ बताउँछन् । यहाँको ताल तलैयामध्ये तिलिचोताललाई धार्मिक पर्यटनसँग जोड्नुपर्ने स्थान हो । तर, विश्वको पर्यटकलाई तानेपनि अझै धार्मिक पर्यटनका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको उनी बताउँछन् । हिमाली क्षेत्रमा बढी जलवायु परिवर्तनको प्रभाव पर्ने भएकाले समाधान गर्ने एजेन्डा अघि बढाएको उनको भनाइ छ । “यसको असरको समाधानका लागि स्थानीयलाई सचेत गराउँदै संसद्बाट उजागर गर्न आवश्यक छ”, उनी भन्छन्, “यहाँको प्राकृतिक सौन्दर्ययतालाई यसको असरबाट जोगाउने लक्ष्यका साथ एजेन्डा निर्धारण गरिएको हो ।”

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार यशोदा सुवेदी गुरुङ पर्यटन मनाङको मुख्य आयस्तर हो यसको प्रवर्द्धन गर्ने बताउँछिन् । “प्रकृति, संस्कृति र साहसिक पर्यटनको विश्वस्तरको पहिचान हो”, उनले भनिन्, “पर्यटन समृद्धिको मेरुदण्ड हो । यसको संरक्षण र वैकल्पिक पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको छ ।”

सडक विस्तारका कारण विश्वको जोखिमयुक्त अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको उम्मेदवार गुरुङ बताउँछिन् । “यहाँको तिलिचो ताल, आइस लेकलगायतका तालतलैयाको प्रवर्द्धन, थोराङ्ला पास, लार्केपास, काङ्ला पासलाई प्रमुख पर्यटनको क्षेत्रका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य छ”, उनी भन्छिन्, “यसले नै मनाङ समृद्ध बन्छ ।”

यस निर्वाचनमा मनाङमा पुराना दलबिच नै प्रतिस्पर्धा हुने भएको छ । मनाङमा नेपाली कांग्रेस र नेकपाबिच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा कूल मत ६ हजार ७७९ मतदाता रहेकामा चार हजार ८२७ मत खसेको थियो । कांग्रेसका टेकबहादुरले दुई हजार ५७५ मत ल्याएका थिए । एमालेका पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याएका थिए । समानुपातिकतर्फ कांग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले आठ र जनमोर्चाले दुई मत प्राप्त गरेको थियो ।

मनाङमा यसपालि महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता छन् । उनीहरुले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा भएको प्रतिस्पर्धाभन्दा यस पटकको निर्वाचन भिन्न देखिएको छ । नेकपा एमाले र राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ । मुख्य प्रतिस्पर्धीको रूपमा यस पटकको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी रहेको छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update