Khabar Out
पत्रकारलाई आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

रसुवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले रसुवा जिल्ला प्रशासन कार्यालयले यहाँ क्रियाशील पत्रकारलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

स्थानीय प्रशासन र पत्रकारबिच समन्वय तथा सहकार्य सुदृढ बनाउन बिहीबार अपराह्न जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तर्क्रियामा यस्तो आग्रह गरिएको हो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विवादरहित बनाउन सञ्चारकर्मीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने बताए ।

उनले पत्रकारिता क्षेत्रलाई समाजको ‘चौथो अङ्ग’का रूपमा उल्लेख गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना देखिए, सुने वा थाहा पाए तुरुन्त जिल्ला प्रशासन कार्यालय वा तोकिएका अनुगमन अधिकृतलाई जानकारी गराइ सहयोग गर्न अनुरोध गरे । अनुगमन अधिकृतमा प्रमुख कोष नियन्त्रक सन्ध्या कार्की र सहायक प्रजिअ द्रुवप्रसाद अधिकारी रहेका छन् ।

प्रजिअ पन्थीका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकाय माघ २१ गतेदेखि नै परिचालन भइसकेका छन् । निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई आवश्यक सुरक्षा तथा कानुनी प्रशिक्षण प्रदान गरी नियमित सुरक्षा संयन्त्रसँगको निर्देशन एवं समन्वयमा काम गर्न खटाइसकिएको जानकारी दिँदै उहाँले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी गरे ।

दैनिक रूपमा गस्ती तथा पेट्रोलिङ कार्य भइरहेको र संवेदनशील क्षेत्रहरूको विशेष निगरानी बढाइएको पनि जानकारी दिए। निर्वाचनको समयमा सरकारी स्रोतसाधन दुरुपयोग हुन नदिन प्रशासन सचेत रहेको उल्लेख गर्दै उनले सुरक्षा कार्यबाहेक अन्य प्रयोजनका लागि कुनै पनि सरकारी सवारीसाधन प्रयोग गर्न नपाइने स्पष्ट पारे ।

निर्वाचन आचारसंहिताविपरीत कुनै पनि जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिका क्षेत्रभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने प्रावधान रहेको उल्लेख गर्दै प्रजिअ पन्थीले त्यस्ता गतिविधि रोक्न सञ्चारमाध्यमको निगरानी अपरिहार्य हुने बताए ।

यस्तै, आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने कार्यतालिका तयार भइसकेको जानकारी दिँदै उक्त अभियान सफल बनाउन सञ्चारकर्मीको सक्रिय सहभागिता आवश्यक भएको बताए । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update