Khabar Out
जुम्लाबाट नेपालगञ्जसम्म एम्बुलेन्स भाडा २५ हजार

जुम्ला । जुम्लाबाट नेपालगञ्जसम्म बिरामी बोक्ने एम्बुलेन्सको भाडा रु २५ हजार तोकिएपछि स्थानीयस्तरमा विरोध भएको छ । जिल्ला एम्बुलेन्स समितिले आफूखुसी भाडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयवासीले असन्तुष्टि जनाएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा गत पुस २४ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए ।

निर्धारित भाडादरबारे जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भने, “आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा रु ६०० जिल्लाभित्र कच्ची सडकमा प्रतिकिलोमिटर रु १०० र पक्की सडकमा ९० रुपैयाँ (दुवैतर्फ) तोकिएको छ ।”

त्यस्तै, जुम्लाका सम्पूर्ण स्थानबाट सुर्खेतसम्म एम्बुलेन्स भाडा रु २० हजार र जुम्लाबाट नेपालगञ्जसम्म रु २५ हजार निर्धारण गरिएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख शर्माले बताए । जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले दूरी र स्थानका आधारमा भाँडादर निर्धारण गरिएको स्पष्ट पारे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाँडामा एकरूपता ल्याउन समिति सक्रिय भएको प्रजिअ पौडेलको भनाइ छ ।

सिञ्जा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन् । सुर्खेत र नेपालगञ्जसम्मको भाडा अत्यधिक महँगो भएको भन्दै स्थानीयवासी आक्रोशित छन् ।

बिरामीलाई लक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको स्थानीयवासीको गुनासो छ । जिल्ला एम्बुलेन्स समितिले भने भाडादर दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको जनाएको छ । रासस

 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update