काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी निर्वाचन सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको बताएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित 'नेपाल आदिवासी ज्ञान सम्मेलन'को समापन समारोहमा बोल्दै उनले देशको समावेशी शासन प्रणालीलाई मजबुत बनाउन स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको उल्लेख गरेका हुन्।
सबै जातजाति, भाषा र समुदायलाई समान राजनीतिक अधिकार र आत्मसम्मान दिलाउन पनि यो निर्वाचन सफल हुनुपर्नेमा उनले जोड दिए। केन्द्रमा अधिकार राखेर तल्लो तहमा दायित्व मात्र थोपर्ने सङ्घीयताले काम नगर्ने भन्दै अर्थमन्त्री खनालले अधिकार, स्रोत र निर्णय गर्ने क्षमताको वास्तविक हस्तान्तरण हुनुपर्ने धारणा राखे।
उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई समस्याका रूपमा नभई राष्ट्रिय सम्पत्तिका रूपमा लिनुपर्ने बताए। सम्मेलनबाट प्राप्त निष्कर्ष र सुझावहरूलाई आगामी सरकारसमक्ष लिखित रूपमा बुझाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। विविधताको सम्मान र समावेशी राजनीतिक व्यवस्थाबिना लोकतन्त्र बलियो हुन नसक्ने उनको तर्क थियो।
प्रतिष्ठानको रजत जयन्तीको अवसरमा माघ २५ देखि २७ गतेसम्म राष्ट्रियसभा गृहमा चलेको यस सम्मेलनमा आदिवासी ज्ञानको संरक्षण, संवर्द्धन र पुनर्जीवनका विषयमा घनीभूत छलफल भएको थियो। प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङका अनुसार सम्मेलनमा देशभरका विभिन्न आदिवासी जनजाति समुदायका करिब तीन सय प्रतिनिधिको सहभागिता थियो।
बौद्धिक विमर्श, नीतिगत संवाद र सांस्कृतिक उत्सवका साथ सम्पन्न भएको यस कार्यक्रमले आदिवासी समुदायका विद्वान, अध्येता र नीति निर्माणकर्ताहरूलाई एउटै थलोमा ल्याएको थियो।





