हेटौँडा । खाद्यान्नमा मिसावट गर्ने र अखाद्य वस्तु बिक्री गर्ने १९ जना व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा गरिएको बजार अनुगमन र सङ्कलित नमुना परीक्षणका क्रममा कैफियत भेटिएका व्यवसायीहरूमाथि कानुनी कारबाहीको तयारी गरिएको हो।
कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत व्यवसायीहरूमाथि मुद्दा चलाउन अहिले अनुसन्धान भइरहेको छ। सरकारी वकिलको कार्यालयसँगको समन्वयमा मुद्दाको प्रक्रिया अघि बढे पनि पछिल्लो समयको 'जेनजी' आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुन बाँकी रहेको उनले जानकारी दिइन्। अबको केही दिनभित्रै सम्बन्धित जिल्ला अदालतहरूमा मुद्दा दायर गरिने कार्यालयको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा सोही कार्यालयले ४४ जना व्यापारीविरुद्ध मुद्दा चलाएको थियो।
अनुगमनका क्रममा स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी मिसावट गर्ने र म्याद गुज्रेका सामान बिक्री गर्नेलाई मुख्य तारो बनाइएको छ। कार्यालयले चालू आवमा २४५ नमुना विश्लेषण गर्दा १६ वटा नमुना प्रतिकूल भेटिएका थिए। प्रतिकूल नमुना देखिएका व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउने, पुनः जाँच गराई सुधार गर्न लगाउने र सचेत गराउने काम भइरहेको छ।
सोही अवधिमा उपभोग्य मिति समाप्त भएका, लेभल नभएका र सडेगलेका करिब १ लाख २ हजार रुपैयाँ बराबरका ३११ किलो अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँमा निरीक्षण गरिएको कार्यालयले जनाएको छ। यसै अवधिमा विभिन्न शीर्षकबाट १० लाख ४ हजार रुपैयाँभन्दा बढी राजस्व समेत सङ्कलन भएको छ।





