Khabar Out
राजनीतिमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

गृहजिल्ला झापा आगमनका क्रममा अध्यक्ष ओलीले शुक्रबार चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सिक्ने चाहना र राजनीतिक सक्रियताको आकाङ्क्षा राख्ने युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा राखे । नयाँ पुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु गलत नभएको स्पष्ट पार्दै उहाँले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताए।

“अनुभव र ऊर्जाको संयोजनले मात्रै राजनीतिक संस्कार सुदृढ हुनसक्छ”, उनले भने। झापा क्षेत्र नम्बर ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिएका अध्यक्ष ओली आज हवाईमार्ग हुँदै यहाँ आइपुगेका हुन् ।

राजनीतिक प्रतिस्पर्धा स्वागतयोग्य भएको उल्लेख गर्दै उनले आफूसँग प्रतिस्पर्धा गर्न कोही अगाडि आउँछ भने त्यसलाई सधैँ खुलेर स्वीकार गर्ने बताए । लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा र युवाको सक्रिय सहभागिताले राजनीति अझ परिपक्व हुने अध्यक्ष ओलीले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update