चितवन । डिभिजन वन कार्यालयले बरण्डाभार क्षेत्रमा रहेका सङ्कटापन्न तालतलैया एवं पोखरी व्ययवस्थापनको काम सुरु गरेको छ । १० हजार २०० हेक्टर क्षेत्रफलभित्र पर्ने बरण्डाभार क्षेत्रमा रहेका १५ वटा तालतलैया एवं पोखरी व्यवस्थापनका लागि काम सुरु गरिएको हो ।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार तालतलैया संरक्षणका लागि रु १० लाख बजेट रहेको छ । बरण्डाभार क्षेत्र संरक्षणका लागि विनियोजित बजेट रु ३५ लाखमध्ये पनि ताल तलैया संरक्षणमा अधिक बजेट खर्च गर्ने योजना रहेको उनले बताए । बरण्डाभार क्षेत्रमा रहेका १५ भन्दाबढी तालको संरक्षण र व्यवस्थापनको काम सुरु गरिएको उनले जानकारी दिए ।
उनले भने,“सङ्कटमा परेका ताल तलैयाहरुको संरक्षण गर्दै वन्यजन्तुका लागि आवश्यक पानीको मात्रा वन क्षेत्रमा नै पुर्याउने योजना रहेको छ ।” अहिले बरण्डाभार क्षेत्रमा रहेका तालतलैया सङ्कटमा पर्दा घाँसेमैदान घट्दै गएको उनले बताए । उनका अनुसार अहिले तालतलैया जलकुम्भी, माइकेनियालगायत झारले तालतलैयालाई सङ्कटमा पारेको छ । सङ्कटमा परेका तालतलैयालाई पुनःसंरचना र अद्यावधिक गर्ने काम सुरु गरिएको हो ।
बरण्डाभार क्षेत्रबाहेक सामुदायिक वन क्षेत्रमा रहेका ताललाई व्यवस्थापनका लागि वन समितिलाई परिपत्र गरी सकिएको छ । यस कार्यालयको कार्यक्षेत्रमा बरण्डाभार क्षेत्रबाहेक अन्य क्षेत्रमा गरी ४४ वटा तालतलैया रहेका छन् । उहाँका अनुसार सबै तालतलैया एवं पोखरीलाई व्यवस्थापन गर्दै अघि बढ्न लागिएको हो ।
पानीको स्रोत सुक्दा वन्यजन्तुलाई मात्रै समस्या नभई बोटबिरुवालाई समस्या हुने गरेको छ । यसले जमिनमा पानीको मात्रा पुनरभरणमा ठुलो सहयोग पुग्दछ । वर्षात्का समयमा ती पोखरीमा पानी भरिन्छ । त्यसका लागि पनि व्यवस्थापनको सहयोग पुग्ने गर्दछ ।



