Khabar Out
अष्ट्रेलियामा उपभोक्ता मूल्य बढ्दै, ब्याजदरमा वृद्धि

काठमाडाैँ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याजदर बढाएको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैङ्कले सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा सर्वसम्मत निर्णय गर्दै नगद ब्याजदर ३ दशमलव ६० प्रतिशतबाट बढाएर ३ दशमलव ८५ प्रतिशत पुर्‍याएको जनाएको छ ।

यो निर्णय सन् २०२३ नोभेम्बरपछि गरिएको पहिलो ब्याजदर वृद्धि हो । यसअघि सन् २०२५ मा बैंकले तीन पटक गरी कुल शून्य दशमलव २५ प्रतिशतले ब्याजदर घटाएको थियो ।

केन्द्रीय बैङ्कको मौद्रिक नीति समितिका अनुसार सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति त्यसपछि उल्लेख्य रूपमा घटेको भए पनि सन् २०२५ को दोस्रो भागमा फेरि तीव्र रूपमा बढेको हो ।

अष्ट्रेलियाको तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२५ डिसेम्बरसम्मको बाह्र महिनामा उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा बढी हो । केन्द्रीय बैंकले मुख्य सूचकका रूपमा लिने आधारभूत मुद्रास्फीति दर पनि डिसेम्बरमा ३ दशमलव ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा ३ दशमलव २ प्रतिशत थियो ।

मौद्रिक नीति समितिले मुद्रास्फीति अझै केही समय २ देखि ३ प्रतिशतको लक्ष्य दायराभन्दा माथि रहने सम्भावना रहेको जनाएको छ । समितिका अनुसार निजी क्षेत्रको माग अपेक्षाभन्दा छिटो बढिरहेको छ, उत्पादन क्षमतामा दबाब बढेको छ र श्रम बजार पनि केही कडा अवस्थामा रहेको छ ।

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको अद्यावधिक अनुमानअनुसार सन् २०२६ को मध्यसम्म वार्षिक मुद्रास्फीति दर ४ दशमलव २ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि सन् २०२७ को मध्यसम्म मुद्रास्फीति घटेर २ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update