Khabar Out
हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको हेल्मेट र रोमनकालीन मूर्तिलगायतका वस्तु राखिएका छन् । गाईको खप्पर, जुत्ता, स्विस सेनाको पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन्।

स्विस हिमनदीविद्हरूले यस वर्ष देशका हिमनदीको कुल क्षेत्रफलको ५.५ प्रतिशत भाग गुमेको बताएका छन् । यो अभिलेख राख्न थालिएयताकै दोस्रो ठूलो गिरावट हो । हिमनदी तीव्र गतिमा पग्लँदै गएपछि त्यहाँ सुरक्षित रहेका सामग्री र वातावरणीय इतिहासका प्रमाण हराउनुअघि सार्वजनिक गर्न प्रदर्शनी आयोजना गरिएको ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीले बताए ।

“हिमनदी अहिले निकै तीव्र गतिमा हराइरहेका छन् । ती पूर्ण रूपमा हराउनुअघि हामीले गुमाउन लागेका महत्त्वपूर्ण र रोचक अभिलेख मानिसलाई देखाउन चाहेका छौँ”, उनले भने ।

प्रदर्शनीमा वस्तुहरू मात्र नभई स्विस हिमनदीका भिडियो, वर्षौंको पग्लने दर देखाउने तथ्याङ्क र हिमनदी कसरी बग्छ भन्ने बुझाउने नमूना पनि राखिएका छन् । केही सामग्री मानिसले हराएका वा फ्याँकेका फोहोरसमेत हुन सक्ने बुरीले बताए । ती वस्तु कसरी त्यहाँ पुगे भन्ने यकिन नभए पनि हिमनदी पग्लँदा के–कस्ता सामग्री बाहिर आउँछन् भन्ने बुझ्न प्रदर्शनी उपयोगी हुने उनको भनाइ छ।

प्रदर्शनीमा राखिएका वस्तुहरू पहाडबाट सामग्री सङ्कलन गरेर प्रयोगशालासम्म पुर्याउन प्रयोग हुने सेता बाकसहरूमाथि सजाइएको छ । यसले गोदाममा सामग्री राखिएको जस्तो दृश्य प्रस्तुत गर्छ । हिमनदीबाट निकालिएको बरफको एउटा सिलिन्डर पनि राखिएको छ, जुन पग्लँदै झर्ने अवस्थामा देखिन्छ । यसले प्रकृतिमा भइरहेको तीव्र परिवर्तनलाई स्मरण गराउँछ ।

हिमनदीले ठोस वस्तु मात्र नभई वातावरणीय इतिहासका सूक्ष्म प्रमाणसमेत सुरक्षित राखेका छन् । प्रदर्शनीमा परागकण, हरितगृह ग्यास र २०औँ शताब्दीको मध्यतिर भएका आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कण बरफमा जमेर बसेको तथ्य पनि प्रस्तुत गरिएको छ ।

त्यस्तै, करिब ५०० वर्षअघि, १६औँ शताब्दीको मध्यतिर खडेरी र असाधारण गर्मीका कारण वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँका कण र कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको देखाइएको छ । यी प्रमाणले विगतमा पनि उच्च तापक्रम र चरम मौसमी अवस्था रहेको बुझ्न मद्दत गर्छन् ।

प्रदर्शनीमा मानव अवशेष राखिएका छैनन् । तर, हिमनदी पग्लँदा दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका शवसमेत फेला पर्ने गरेका छन् । गत अगस्टमा लुसर्नको दक्षिणमा रहेको ट्रिफ्ट हिमनदी नजिकै दशकौँअघि बेपत्ता भएका दुई बेल्जियम पर्वतारोहीका शव भेटिएका थिए । सन् २०१५ मा प्रसिद्ध म्याटरहर्न हिमाल नजिकै सन् १९७० मा हराएका दुई जापानी पर्वतारोहीका अवशेष फेला परेका थिए ।

हिमनदीमा संरक्षित वस्तु र प्रमाणले विगतको मानव गतिविधि, प्राकृतिक अवस्था र वातावरणीय परिवर्तनबारे महत्त्वपूर्ण जानकारी दिने भएकाले यस्ता सामग्रीको संरक्षण र अध्ययन आवश्यक रहेको प्रदर्शनीले देखाएको छ । यो प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुनेछ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update