Khabar Out
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

इरान । इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक भवनमा शनिबार विस्फोट भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

रकारी टेलिभिजनले शहरको मोआलेम बुलेभार्डमा रहेको आठ तले भवनमा विस्फोट भएको र विस्फोटबाट दुई तलामा व्यापक क्षति पुगेको बताइएको छ । विस्फोटका कारण केही सवारी साधन र पसलहरूमा क्षति भएको जनाइएको छ ।

उद्धारका लागि र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएले होर्मोज्गान प्रान्तका सङ्कट व्यवस्थापन महानिर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

“घटनामा परी घाइते भएका व्यक्तिहरूलाई आकस्मिक उद्धार सेवाका अधिकारीहरूले अस्पताल पुर्याइरहेका छन्,” उनले भने ।

सरकारी टेलिभिजनले प्रसारण गरेका तस्वीरहरूमा भवनको अग्रभागमा बढी क्षति भएको देखाइएको छ, यसको भित्री भागहरू बाहिरबाट नै देख्न सक्नेगरी भत्किएका छन् र चारैतिर भग्नावशेष छरिएको छ।

अन्य इरानी मिडियाले पनि यस्तै रिपोर्टहरू प्रकाशित गरेका छन् तर कसैले पनि विस्फोटको कारणको बारेमा विस्तृत विवरण प्रदान गरेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक वक्तव्यपछि उक्त क्षेत्रमा एउटा अमेरिकीे विमानवाहक समूह तैनाथ गरेको समयमा भएको यो विस्फोटले इरानलाई झस्काएको छ। रासस

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update