बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने सम्भावनाबारे तथ्य र प्रमाणमा आधारित खुला छलफल गर्न आह्वान गरेका छन् । ईयूसँगको सम्बन्ध थप सुदृढ बनाउने विकल्पबारे उनको सरकारले विचार गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।
‘द सन्डे टाइम्स’ सँगको अन्तर्वार्तामा बर्नह्यामले यस विषयमा तथ्यपरक र प्रमाणमा आधारित बहस आवश्यक रहेको बताएका छन् ।
उनले ब्रेक्जिटअघि स्वतन्त्र आवतजावतका कारण बेलायतले केही महत्वपूर्ण चुनौती सामना गर्नुपरेको स्वीकार गरे । तर, बेलायतले ईयू छाडेयता आप्रवासनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै विगत र वर्तमानका अवस्थाबीचको भिन्नताबारे इमान्दार छलफल हुनुपर्नेमा जोड दिए ।
बर्नह्यामले ब्रेक्जिटपछि बेलायतले ईयूका केही आप्रवासनसम्बन्धी सूचना आदानप्रदान प्रणालीमा पहुँच गुमाएको विषय पनि उठाए । यसमा शरण आवेदन व्यवस्थापनमा सहयोग गर्ने ईयूको बायोमेट्रिक डाटाबेस ‘युरोड्याक’ पनि समावेश छ ।
यद्यपि, प्रधानमन्त्रीले बेलायतले युरो मुद्रा अपनाउने वा आन्तरिक सीमा जाँच हटाइएको शेन्जेन क्षेत्रमा सामेल हुने प्रस्ताव आफूले नगरेको स्पष्ट पारे ।
बर्नह्यामले आगामी नोभेम्बर २० मा ब्रसेल्समा ईयू नेताहरूसँग भेट गर्ने कार्यक्रम छ । उक्त बैठकमा उनले ईयूसँग बेलायतको भावी सम्बन्धका सम्भावित विकल्पबारे छलफल गर्ने सङ्केत गरेका छन् ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीले प्रस्तुत गरेको घोषणापत्रमा स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने, ईयूको एकल बजारमा पुनः सामेल हुने वा भन्सार सङ्घमा प्रवेश गर्ने प्रतिबद्धता गरिएको थिएन ।
प्रधानमन्त्री बर्नह्यामले ती प्रतिबद्धता पालना गर्ने वाचा गर्दै आएका छन् । त्यसैले आगामी आमनिर्वाचनअघि ईयूसँगको सम्बन्धमा आधारभूत परिवर्तन हुने सम्भावना कम देखिएको छ ।
बेलायतले सन् २०२० मा ईयूबाट औपचारिक रूपमा अलग भएपछि दुई पक्षबीच व्यापार, आप्रवासन र सुरक्षा सहकार्यमलगायत विषयमा सम्बन्ध पुनःपरिभाषित गर्ने प्रयास जारी राखेका छन् । रासस







