Khabar Out
‘निर्वाचन आचारसंहिताको पालना एवं कार्यान्वयन साझा दायित्व’

पाेखरा । निर्वाचन आचारसंहिताको पालाना एवं प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा सम्बद्ध निकायबीच शुक्रबार आयोजित संयुक्त बैठक एवम् अन्तरक्रियामा वक्ताहरूले निर्वाचन सफल बनाउन आचारसंहिताको पालना एवं प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन लोकतन्त्रको मुख्य मेरुदण्ड भएका कारण आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचनलाई निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न बनाउन सकिने बताए ।

उनले “आचारसंहिताको प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकाले यो दायित्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।”

कास्की जिल्लामा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको विषयमा हालसम्म कुनै उजुरी नपरेको बताउँदै मुख्य निर्वाचन अधिकृत बेलबासेले सबैको सामूहिक प्रयासबाट निर्वाचनलाई निष्पक्ष एवं भयरहित बनाउन सकिने बताए । निर्वाचनको स्वच्छताले नै सुशासन ल्याउन सक्ने भन्दै यसमा गम्भीर बन्न उनले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको अनुगमन एकैसाथ अघि बढ्ने बताए । उनले संवेशदनशील क्षेत्रमा अझै विशेष ध्यान दिइने र आचारसंहिताको कार्यान्वयनका विषयलाई प्रभावकारी रूपमा अनुगमनसमेत गरिने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन सम्बद्ध सबैको सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औँल्याए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले निर्वाचन सम्पन्न गराउन आवश्यकपर्ने सबै किसिमका सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले निर्वाचन आचारसंहितामा उल्लेखित विषयबारे जानकारी गराए । कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका प्रमुख कोष नियन्त्रक रमेश अर्यालले उम्मेदवारले बैंकिङ प्रयोजनका लागि अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरिएकाले त्यसको पालना गर्न आग्रह गरे ।

जिल्लामा उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि खर्च गर्न पाउने रकमको सीमा तोकेको बताउँदै उनले कास्कीको क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः रु २९ लाख, रु २७ लाख र रु ३१ लाख निर्धारण गरिएको जानकारी गराए ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नीतु गड्तौलाले निर्वाचनको प्रचारका क्रममा कुनै पनि जातीय विभेद् हुने खालका अभिव्यक्ति आउन नहुने बताउँदै निर्वाचनमा खटिने महिला कर्मचारीलाई सुरक्षित अनुभूति हुने किसिमले व्यवस्थापन गराउन सुझाव व्यक्त गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बराल, नेकपा (माओवादी)का उमेश सिके, नेपाली कम्युनिष्ट पार्टीका खड्ग हमाल, नारी जागरण अभियानका संयोजक अञ्जु केसी, नेपाल कर्मचारी युनियन कास्कीका अध्यक्ष केदार सापकोटा, नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष डिल्लीराम बराललगायतले अचारसंहिता पालना र यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update