Khabar Out
कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहोर्‍याउने दाउमा

कञ्चनपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ ।

राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन् ।

राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र नं १ मा २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तारा लामा तामाङसँग पराजित भएकी थिइन् ।

नेकपा एमालेले यस क्षेत्रबाट पुनः तामाङलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा सुदूरपश्चिमबाट बैतडी र कञ्चनपुर–१ मा मात्रै एमालेले चुनाव जितेको थियो ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना भने २०७४ सालको जित फर्काउने रणनीतिअनुसार चुनावी मैदानमा छिन् ।

क्षेत्र नं १ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीसँगको मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्याय पहिलोपटक चुनावी मैदानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि पहिलोपटक जनकसिंह धामी मैदानमा छन् । स्वतन्त्रसहित १९ जना उम्मेदवार रहेको क्षेत्र नं १ मा प्रमुख तीन राजनीतिक दलबिच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी भिडन्त रोचक हुँदै छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री नारायणप्रकाश साउँद चुनावी मैदानमा छन् । लगातार यहाँबाट चुनाव लड्दै आएका साउँद २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।

उनले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर धामीलाई पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा एमालेका धामीले साउँदलाई पराजित गर्दै निर्वाचित भएका थिए। यो पटक एमालेबाट यहाँ युवानेता बचनबहादुर सिंह चुनावी मैदानमा छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पनि यही क्षेत्रलाई रोजेर पहिलोपटक चुनावी मैदानमा सक्रियता बढाएका छन् नेपाली कम्युनिष्ट पार्टीले युवा नेता माधव पन्तलाई उम्मेदवार बनाएको छ । माधवको पनि प्रतिनिधिसभाको पहिलो चुनावी भिडन्त हो ।

त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पर्ने निर्वाचन क्षेत्र नं ३ आसन्न निर्वाचन चर्चाको केन्द्रमा छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार हुनबाट वञ्चित गरेपछि यहाँको चुनावी माहोल अझ रोचक देखिन्छ ।

पार्टी सङ्गठनका हिसाबले कञ्चनपुर क्षेत्र नं ३ नेपाली कांग्रेसका लागि मजबुद क्षेत्र मानिन्छ । यही क्षेत्रबाट पटक–पटक नेता लेखक विजयी भए । तर हाल कांग्रेसभित्रको आन्तरिक कलह र विवाद भइरहँदा यहाँबाट कांग्रेसका पूर्वजिल्ला सभापति हरिप्रसाद बोहराले टिकट ल्याएका छन् । तर निर्वाचनमा बाजी मार्न भने निकै मेहनत गर्नुपर्ने स्थानीयको भनाइ छ ।

पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका बोहरालाई कांग्रेसको विरासत निर्वाचन जितेर जोगाउनुपर्ने चुनौती छ । उता नेकपा (एमाले) ले यहाँबाट पूर्वसांसद डा.दीपकप्रकाश भट्टलाई चुनावी मैदानमा उतारेको छ ।

भट्टले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता रमेश लेखकलाई पराजित गरेका थिए । २०७९ सालमा भने कांग्रेस नेता लेखकले यहाँ एमाले नेत्री नीरुदेवी पाललाई भारी मतान्तरले पारजित गर्दै विजयी भएका थिए ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका नेता मानबहादुर सुनार पनि यहाँ बलियो पकड भएका नेताका रुपमा चिनिन्छन् । प्रदेशसभा सदस्य भइसकेका सुनारको आधार क्षेत्र महाकाली नदी पारिको दोधारा चाँदनी मानिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महतालाई चुनावी मैदानमा उतारेको छ । यो क्षेत्रमा यो पटक नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुबिच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव भीमराज भट्टले तीन वटै निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको जानकारी दिए ।

“९२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने तयारी पनि छ,” सचिव भट्टले भने, “विभिन्न तहमा बैठक बसेर पार्टीलाई सक्रिय गराउने काम भइरहेको छ ।”

त्यसैगरी नेकपा (एमाले)का सचिव पल्लभराज भट्टले विभिन्न तहमा पार्टीको चुनाव केन्द्रित बैठकहरु सञ्चालन भइरहेको बताए । “पार्टीको केन्द्रको घोषणा पत्र आएपछि स्थानीय एजेन्डा थपेर जिल्लामा पनि घोषणा पत्र बनाउने छौँ,” उनले भने, “हामी आसन्न निर्वाचनको व्यापक आन्तरिक तयारीमा जुटेका छौँ ।” रासस

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update