Khabar Out
जलजलामा उत्कृष्ट १० उद्यमीलाई सम्मान

म्याग्दी । जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरूलाई सम्मान गरिएको हो ।

उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उनीहरूको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी मङ्गलबार सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिए । उनका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही नगद रु एक लाख नगद सहयोगसमेत गरिएको छ ।

उत्कृष्ट उद्यमीको रूपमा टपरी एग्रो प्रालिकी जमूना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्ग्यानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाइजा, पाइजा नर्सरी फर्मका नरबहादुर पाइजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट भएका हुन् ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट उद्यमीलाई सम्मान गरेका थिए । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावनायुक्त रहेको बताए ।

‘अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोतसाधनमा आधारित उद्यमशीलतालाई बढवा दिनुपर्छ, स्वदेशी स्वरोजगार र आत्मनिर्भरतासंगै रोजगारका अवसर सिर्जना गर्नतर्फ प्रदेश सरकारले जोड दिएको छ’’, मन्त्री बस्यालले भने । यस कार्यक्रममार्फत गत आव २०८१/२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरूलाई न्यूनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार पूरक अनुदान प्रदान गरी सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्यमीलाई यो आर्थिक वर्षमा ३४ हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २० हजार बराबरको पूरक अनुदान प्रदान गरिने भएको छ ।

उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिइन् । सर्वोकृष्ट हुने एक जना उद्यमीहरुलाई उद्यमशीलता विस्तारका लागि थप रु एक लाख ५० हजारको दरले पूरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस कार्यक्रमले उद्यमीहरूलाई उद्यमको योजना निर्माण, उद्यमीलाई वृद्धिमुखी योजनासम्बन्धी तालिम दिने, नवप्रवर्द्धनसम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा सञ्चालित छ । रासस

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update