काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार हुने मतदानमा बागमती प्रदेशमा दुई सदस्यका लागि ६ जना प्रतिस्पर्धामा छन् । आइतबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म मतदान हुँदै छ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ ।
निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि कर्मचारी खटाइसकिएको र मतदान केन्द्रसमेत निर्माण भइसकेको छ । मतदान केन्द्रमा मतपत्रसमेत आइसकेको छ ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी ६ जना प्रतिस्पर्धामा छन् । महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, अन्य क्लस्टरबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का डा. प्रेमप्रसाद दंगाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन् । ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका ११० र पालिकातर्फ २३८ गरी ३४८ मतदाता छन् भने १० हजार ३५२ मतभार रहेको छ ।
त्यस्तै गण्डकीमा दुईजना सदस्यका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले मतदानका लागि कर्मचारी व्यवस्थापन एवं सुरक्षा व्यवस्थालगायत सबै तयारी सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार मतदानका लागि निर्वाचन कार्यालय परिसरमा नै दुईवटा केन्द्र स्थापना गरिएको छ । एउटा केन्द्रमा ५९ जना प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन् भने अर्को केन्द्रमा १६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् ।
गण्डकीमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले साझा उम्मेदवार उठाएका छन् । एमालेबाट महिलातर्फ सम्झना देवकोटाको उम्मेदवारी परेको भने अन्यतर्फ नेपाली कांग्रेसका प्राध्यापक डा जगत् तिमिल्सिनाको उम्मेदवारी परेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले अन्यतर्फ शंकरप्रसाद बराल र महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटालाई उम्मेदवार बनाएको छ । गण्डकीमा राष्ट्रियसभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । जसमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । रासस



