काठमाडौँ । अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास र नियोगका कन्सुलरसँग विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) का सम्बन्धमा अन्तरक्रिया गरेको छ । शुक्रबार काठमाडौँमा कन्सुलर विभागको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
नेपालको अध्यागमन विभागले विदेशी नागरिकको अनुगमनका सम्बन्धमा विकास गरेको प्रणालीमा एकरूपता कायम गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालस्थित विभिन्न नियोगका प्रतिनिधि तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीबाट सङ्कलित तथ्याङ्कले विदेशी नागरिकको सुरक्षाका साथै अनुसन्धानका लागि आवश्यक सूचनाको उपलब्धतामा सहजता पुग्ने विश्वास व्यक्त गरे । उक्त प्रणाली आपत्कालीन अवस्थामा उद्धार प्रयोजनका लागि उपयोग हुने उनको भनाइ छ ।
यस प्रणाली कार्यान्वयन भएपश्चात् विभागले विदेशी नागरिकबाट सेवा प्रदायकबाट थप सूचना माग नगर्ने भएकाले विदेशी नागरिकलाई थप दायित्व सिर्जना नहुने महानिर्देशक तिवारीले धारणा राखे ।
कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले नेपाल पक्ष राष्ट्र भएर गरिएका सम्झौता अनुरूप अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न उक्त प्रणाली विकास भएको बताए । उनले यस प्रणाली कार्यान्वयन भएसँगै व्यक्तिगत तथ्याङ्कको सुरक्षाको प्रत्याभूति हुने भन्दै विदेशी दूतावास नियोगलाई विश्वस्त हुन आग्रह गरे ।
विभिन्न मुलुकका नेपालस्थित नियोगका प्रतिनिधिहरूले प्रणालीको सञ्चालन, नियोगबाट अपेक्षा गरिएको भूमिका, तथ्याङ्कको सुरक्षा, नेपाल प्रवेश गर्ने विदेशी नागरिकले बहन गर्नुपर्ने थप जिम्मेवारीलगायत विषयमा जिज्ञासा राखेका थिए ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विकास गरेको एफएनएमआइएस कार्यान्वयनमा आइसकेको जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गत पुस १७ मा उक्त प्रणालीको शुभारम्भ गरेका थिए ।
यो प्रणाली पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागू गरिएको छ । दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरसहित क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने गरी लागू गरिने कार्ययोजना छ ।
उक्त सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै निकाय प्रणालीमा दर्ता हुनुपर्ने विभागले जनाएको छ ।
पहिलो चरणमा उपत्यकाका तारे होटेलमा अनिवार्य गरिएपनि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवं निजी कम्पनी अग्रिम रूपमा यस प्रणालीमा आबद्ध हुनसक्ने अध्यागमन विभागका महानिर्देशक तिवारीले बताए । उनका अनुसार हालसम्म विदेशी नागरिकलाई सेवा प्रदान गर्ने विभिन्न प्रकृतिका एक हजार ५०० भन्दा बढी निकाय उक्त प्रणालीमा आबद्ध भइसकेका छन् ।
सेवा प्रदायक निकाय र सरोकार भएकाहरूसँग विभिन्न चरणमा छलफल गरी विकास गरिएको उक्त प्रणालीको सम्बन्धमा विभिन्न प्रदेशलक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताए । उनका अनुसार विभागले यसअघि चितवनमा अन्तरक्रिया गरिसकेको छ । रासस



